ब्रिटिश प्रधानमन्त्रीको ब्रेक्जिट नीतिलाई ठूलो झट्का

  • साझा डबली
  • बुधबार, भदौ १८, २०७६
  • एजेन्सी। बिपक्षी तथा वागी कन्जरभेटिभ सांसदहरूले ब्रिटेनका प्रधानमन्त्री बोरिस जोनसनको ब्रेक्जिट नीतिलाई ठूलो झट्का दिएका छन्। संसदीय कामकारबाहीमाथि नियन्त्रण गर्ने पक्षमा सांसदहरूले मतदान गरेका छन्। जसको अर्थ उनीहरूले सहमति विनाको ब्रेक्जिट प्रक्रिया रोक्नका लागि एउटा विधेयकलाई अगाडि बढाउन सक्नेछन्। सो विधेयकमाथि संसद्‌मा भोलि छलफल हुने तय भएको छ।

    बहुमत
    मङ्गलवार रातिको मतदानमा सरकारको पक्षमा ३०१ मत खसेको थियो भने विपक्षमा ३२८ मत खसेको थियो। प्रधानमन्त्री जोनसनले सहमति विनाको ब्रेक्जिट प्रक्रियालाई रोक्ने विधेयक पारित भए आफूले आमनिर्वाचनका लागि प्रस्ताव ल्याउने बताएका छन्।

    सरकार अक्टोबर १५ तारिखमा आमचुनाव गराउन चाहन्छ।त्यो भनेको ब्रसल्समा युरोपेली सङ्घको एउटा महत्त्वपूर्ण बैठक बस्नुभन्दा दुघ दिनअगाडि हो। यसअघि प्रधानमन्त्री जोनसनले संसद्‌मा बहुमत गुमाएका छन्। पार्टी परिवर्तन गर्दै सत्तारुढ कन्जरभेटिभ पार्टीका सांसद फिलीप ली लिबरल डेमोक्र्याट्समा गएपछि जोनसनले संसद्‌मा बहुमत गुमाएका हुन्।

    जोखिम
    योसँगै ६ सय ५० सदस्यीय ब्रिटिश संसद्‌मा कन्जरभेटिभ पार्टीको ३०९ र डेमोक्र्याटिक युनियन पार्टीको १० सांसदसहित जोनसनसँग अब ३१९ सांसदको समर्थन छ भने विपक्षी दलसँग ३२० सदस्य छन्।राजनीतिक मामिला सम्पादक निकोलस वाट भन्छन्, मङ्गलवारको मतदानमा सरकार अपेक्षा गरिएकोभन्दा केही बढी मतले पराजय भएको छ।

    प्रधानमन्त्री जोनसनले आफ्नो पक्षमा केही सांसद पाइरहेका थिए, तर यो ठूलो पराजय हो। जोनसन गत जुलाईमा प्रधानमन्त्री बनेका थिए। प्रधानमन्त्री जोनसनले संसद्‌लाई सम्बोधन गरिरहँदा फिलीप ली विपक्षीको स्थानमा गएर बसेका थिए। बीबीसीको सहयोगमा

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2024 sajhadabali.com All right reserved Site By : SobizTrend Technology