ओली उपचारका लागि सिंगापुर आनुअघि बसेको नेकपा सचिवालय बैठक किन ‘अप्रिय’ बन्यो ?

  • साझा डबली
  • शुक्रबार, भदौ ६, २०७६
  • काठमाडौं, भदौ ६। सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)भित्र अध्यक्ष केपी शर्मा ओली र माधवकुमार नेपालबीच सम्बन्ध निकै चिसिएको छ । लामो समयदेखि सहकार्य गर्दै आएका दुई नेताबीच बिहीबार बिहान भने अप्रिय घटना घटेको हो ।

    केही दिनअघि वरियताको विषयमा लिएर सुरु भएको विवाद बिहीबारसम्म आईपुग्दा भनाभनमै पुगेको हो । नेकपाको एकताका बाँकी काम टुंगो लगाउन सचिवालय बैठक बोलाइएको थियो । सचिवालयका नौ जना नै सदस्य बिहान नौ बजे अगावै बालुवाटार पुगेका थिए । त्यसको केही समयपछि बैठक सुरु भयो ।

    बैठक सुरु भएपछि अध्यक्ष तथा प्रधानमन्त्री ओलीले एजेन्डामा प्रवेश गर्न नभ्याउने भएकाले आफूलाई स्वाथ्यलाभको शुभकामना दिएर पठाउन आग्रह गरे । त्यसक्रममा उनले आफू नहुँदा पनि एकताको काम टुंगोमा पुगोस् भनेर अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई बैठक बोलाउन सक्ने अधिकार दिएको बताए ।

    एकताको १५ महिनापछि पहिलो पटक एकल अध्यक्षले बैठक बोलाउन पाउने अधिकार दिइएको यो पहिलो पटक थियो । तर, ओलीले स्वास्थ्य लाभको प्रस्ताव राख्ने क्रममा नेता नेपालसँग भनाभन भएको हो । ‘आज बैठक एजेन्डामा छलफल हुने अवस्था रहेन । मलाई बैठकले स्वास्थ्य लाभको कामना गरोस्, म तपाईंहरूको शुभकामना लिएर उपचारका लागि जान्छु । यसबीचमा म नभए पनि बैठक राखेर सहमतिका आधारमा निर्णय गर्नुस् । आवश्यक परेमा मसँग फोनमा कुरा पनि गर्न सकिन्छ । पार्टी सर्वसम्मत ढंगले चलाउनुस्’, अध्यक्ष ओलीको भनाई उद्धृत गर्दै एक सचिवालय सदस्यले भने ।

    ओलीको भनाई टुंगिन नपाउँदै नेता नेपालले त्यसको प्रतिवाद गरेको स्रोतले बतायो । ‘हुँदैन, अब कुनै हालतमा सर्वसम्मति हुँदैन’ भन्दै नेता नेपालले प्रतिवाद गरे । आफूले असहमति राख्दाराख्दै थुप्रै निर्णय भएको भन्दै नेपालले अहिलेचाहिँ किन सहमतिमा मात्र निर्णय गर्ने ? भनेर प्रश्न गरेका थिए । उनले केन्द्रीय सदस्य तथा सांसद राजेन्द्र गौतमले सामाजिक सञ्जाल फेसबुकमा आफूविरुद्ध लेखेको भन्दै कारवाहीकोे माग पनि गरे । नेपाल आक्रोशित रूपमा प्रस्तुत भएपछि अध्यक्ष प्रचण्डले बीचमा रोक्न खोजे पनि अर्का अध्यक्ष ओली अगाडि सरेको स्रोतले दाबी गरेको छ ।

    स्वास्थ्य लाभको प्रस्तावलाई नेता नेपालले व्यंग्यात्मक शैलीमा असहमति राखेपछि अध्यक्ष ओली चिढिएको बताइएको छ । त्यसक्रममा प्रधानमन्त्री ओलीले नेपाललाई ‘ल, तपाईंको शुभकामना मलाई चाहिएन नि त’ भन्दै बैठक टुंग्याउन खोजेका थिए । तर, नेता नेपालले ओलीलाई अपशब्द प्रयोग गरेको एक सचिवालय सदस्यले बताए । पछिल्लो समय आफ्नो तेस्रो बरीयता खोसिएपछि नेता नेपाल अध्यक्ष ओलीसँग रुष्ट बनेका छन् । उनले सचिवालय बैठकको पछिल्लो निर्णयमा असहमति जनाउँदै सात बुँदे नोट अफ डिसेन्ट दर्ता गरेका छन् ।

    तर, नेता नेपालले आफूले ओलीमाथि कुनै कुशब्द प्रयोग नगरेको बताएका छन् । नेपालले विधि र प्रक्रियाअनुसार पार्टीमा कार्यविभाजन गरौँ भन्ने आफ्नो कुरा सुनुवाइ नभएको र अध्यक्ष ओलीले पेल्न खोजेपछि प्रतिवाद गर्दा अवस्था केही असहज र तितो बन्न पुगेको बताए । उनले आफूले अध्यक्ष ओलीको स्वास्थ्यलाभको कामना भने गरेको बताए ।

    ‘बैठकमा केही नहुनु पर्ने कुरा भयो, उहाँ (अध्यक्ष ओली) ले स्वास्थ्यबारे सधैँ नकारात्मक कुरा गर्ने भन्दै चार्ज लगाउनु भयो, मैले स्वास्थ्य लाभको कामना गरेँ, तर उहाँले सधैँ मेरो स्वास्थ्यमाथि नकारात्मक कुरा गर्ने ? चाहिँदैन तपाईंको शुभकामना भन्नुभयो,’ नेता नेपालले भने । आफू अध्यक्ष ओलीको स्वास्थ्यबारे निकै संवेदनशील रहेको र कहिल्यै पनि नकारात्मक टिप्पणी नगरेको नेता नेपालको भनाइ छ । ‘मैले कहिल्यै उहाँको स्वास्थ्यको विषयमा नकारात्मक टिप्पणी गरेको छैन, कँही कतै भेटिएछ भने जस्तोसुकै सजाय भोग्न तयार छ, मजस्तो मान्छेले स्वास्थ्यको विषयमा नकारात्मक टिप्पणी गर्छु ? मबाट कहिल्यै हुन्न त्यस्तो कुकाम,’ नेता नेपालको भनाइ थियो ।
    साेर्य दैनिक

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2024 sajhadabali.com All right reserved Site By : SobizTrend Technology