नेकपाको कार्यकारी अध्यक्षमा प्रचण्ड र ईश्वर पोखरेललाई प्रधानमन्त्रीको जिम्मेवारी

  • साझा डबली
  • बिहिबार, भदौ ५, २०७६
  • काठमाडौँ,  भदौ ५ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को बैठकको अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गर्ने भएका छन् । बिहीबार विहान बसेको नेकपाको सचिवालयको बैठकले पार्टीको बैठकको अध्यक्षता प्रचण्डले गर्ने निर्णय गरेको हो ।

    पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ले अब पार्टी एकताका बाँकी काम पुरा गर्न अध्यक्ष प्रचण्डले बैठक बोलाउने र अध्यक्षता गर्ने निर्णय भएको जानकारी दिए । अब नेकपाको एकताका बाँकी काम टुंगो लगाउन बस्ने बैठक अर्का अध्यक्ष ओली उपचारका लागि बाहिर गएको बेलामा पनि नरोकिने भएको छ ।

    तत्कालीन एमाले र माओवादी केन्द्रबीच एकता भएर नेकपा बनेपछि दुई अध्यक्ष भए पनि प्रधानमन्त्री समेत रहेका अर्का अध्यक्ष केपी शर्मा ओलीले बैठकको अध्यक्षता गर्दै आएका थिए । उनको अनुपस्थितिमा नेकपाको बैठक बस्ने गरेको थिएन ।

    बिहीबार विहान बसेको सचिवालय बैठकले आजै उपचारका लागि सिंगापुर जान लागेका प्रधानमन्त्री तथा नेकपा अध्यक्ष ओलीको स्वास्थ्य लाभको कामना गर्ने प्रस्ताव समेत पारित गरेको छ ।

    ईश्वर पोखरेललाई कार्यबाहक प्रधानमन्त्रीको जिम्मेवारी

    राष्ट्रपति विद्यादेवी भण्डारीले उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेललाई कार्यबाहक प्रधानमन्त्रीको जिम्मेवारी दिएकी छिन् ।

    प्रधानमन्त्री केपी शर्मा ओली स्वास्थ्य उपचारको सिलसिलामा बिहीबार सिंगापुर प्रस्थान गरेपछि राष्ट्रपति भण्डारीले प्रधानमन्त्रीको अनुपस्थितिमा दैनिक प्रशासनिक कार्य सञ्चालनका लागि पोखरेललाई कार्यबाहकको जिम्मेवारी दिएकी हुन् ।

    प्रधानमन्त्री केपी शर्मा ओली स्वास्थ्य परीक्षणका लागि आज (बिहीबार) पुनः सिङ्गापुर जाँदै छन् । उनी दिउँसो साढे एक बजे थाइ एयरको विमान मार्फत सिंगापुर प्रस्थान गर्ने छन् ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2024 sajhadabali.com All right reserved Site By : SobizTrend Technology