शालिकराम प्रकरण: पुडासैनीले छोडेपछि पनि न्युज २४ को ल्याण्डलाइन नम्बरबाट पटक–पटक अस्मितालाई टेलिफोन सम्पर्क गरेको खुलासा

  • साझा डबली
  • बिहिबार, भदौ ५, २०७६
  • काठमाडौं, भदौ ५। पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणको छानबिन गरिरहेको प्रहरीले रवि लामिछाने, युवराज कँडेल र रुकु भनिने अस्मिता कार्कीको कल डिटेल निकालेर विश्लेषण गरेको छ । प्रकरणको केन्द्रमा रहेकी युवती अस्मिता कार्कीको मोबाइलमा ‘सिधा कुरा जनतासँग’को प्रसारण संस्था न्युज २४ को ल्याण्डलाइन नम्बरबाट पटक–पटक सम्पर्क भएको देखिएको छ।

    ‘सिधा कुरा जनतासँगको प्रसारण संस्था न्युज २४ को टेलिफोन नम्बरबाट रुक भनिने अस्मिता कार्कीसँग पटक–पटक सम्पर्क भएको देखिएको छ। शालिकरामले न्युज २४ छोडिसकेको अवस्थामा समेत यसरी सम्पर्क हुँदा बढीमा ५ मिनेटसम्म कुराकानी गरेको भेटिएको छ’, घटना अनुसन्धान गरिरहेका एक प्रहरी अधिकृतले  भन्नुभयो ।

    पत्रकार शालिकराम पुडासैनीले ‘सिधाकुरा जनतासँग’ छोडेर माउन्टेन टेलिभिजन गइसकेपछि पटक–पटक सम्पर्क देखिएको विषयलाई अनुसन्धान अधिकारीहरुले अर्थपूर्ण रुपमा लिएका छन्।स्रोतहरुका अनुसार रवि लामिछानेको मोबाइलबाट सिधै अस्मितालाई सम्पर्क गरिएको छैन। रविले सामान्यतः आफ्नो मोबाइलबाट कसैसँग पनि कुराकानी गर्दैनन्।

    अरुको फोन समेत रिसिभ गर्दैनन्। उनले सहयोगमार्फत् मात्र मान्छेहरुसँग टेलिफोन कुराकानी गर्ने गरेका छन्।

    रविको बयानमा के छ ?

    शालिकरामलाई आत्महत्या गर्न दुरुत्साहन गरेको कसुरमा चितवन प्रहरी हिरासतमा रहेका टेलिभिजन कार्यक्रम प्रस्तोता रविले सरकारी वकिलको रोहबरमा प्रहरी समक्ष बयान दिएका छन्।बयानमा उनले सबै किसिमका आरोप इन्कार गरेका छन्।

    पत्रकार पुडासैनीको आत्महत्यामा आफ्नो संलग्नता, योजना तथा सम्पर्क केही नरहेको उनको दाबी छ।‘घटनाकी केन्द्रीय पात्र भनिएकी रुकु भनिने अस्मिता कार्कीलाई म चिन्दिनँ। उनीसँग कुनै किसिमले सम्पर्क पनि गरेको छैन’, उनको बयान उदृत गर्दै चितवन जिल्ला सरकारी वकिल कार्यालय स्रोतले  भन्यो।

    शालिकरामसँग न्युज २४ टेलिभिजन छोडेपछि कुनै सम्पर्क नभएको रविले बयानमा उल्लेख गरेका छन्। ‘मैले शालिकरामलाई कुनै किसिमको धाकधम्की दिएको छैन। घटनामा मेरो कुनै संलग्नता छैन’, रविले बयानमा भनेका छन् । प्रहरीले घटना केन्द्रित रहेर तयार पारेका प्रश्नावली रविलाई सोधेको थियो। उनले सबै आरोपहरुको इन्कारी बयान दिए।

    प्रहरीले आरोपीको बयान, महत्वपूर्ण कल डिटेल, डिजिटल फरेन्सिक ल्याब (डिएफएल) को प्रतिवेदन र पोष्टमार्टम रिपोर्टलाई प्रमाण बनाउँदै मुद्दाको तयारी गरेको हो ।

    भदौ १ गतेदेखि कार्यन्वयनमा आएको मुलुकी अपराध संहिताअनुसार आत्महत्या गर्न दुरुत्साहन गर्ने व्यक्ति पनि कसुरदार ठहरिन्छ। यही कानुनका आधारमा प्रहरीले रवि लामिछाने, युवराज कँडेल तथा अस्मिता कार्कीलाई नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको छ। नेपाल खबरबाट

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2024 sajhadabali.com All right reserved Site By : SobizTrend Technology