पूर्वयुवराज पारसमाथि छानबिन हुने,प्रहरीनै भन्छ-‘यो ठूलो इस्यू होइन’

  • साझा डबली
  • सोमवार, भदौ २, २०७६
  • काठमाडौं, भदौ २ ।  पारस शाहले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यरत सुरक्षाकर्मीमाथि गरेको दुव्र्यवहारबारे प्रहरीले छानबिन सुरु गरेको छ ।

    पारसले आइतबार साँझ विमानस्थलको भीआईपी कक्षको सुरक्षामा खटिएका प्रहरी नायब निरीक्षक (सई) ईश्वर खत्रीलाई सार्वजनिकस्थलमै हातपात गरेका थिए ।

    महानगरीय प्रहरी आयुक्तको कार्यालय, रानीपोखरीका प्रमुख डीआईजी शैलेश थापा क्षत्रीले घटनाबारे छानविन गर्न विमानस्थल प्रहरीलाई निर्देशन दिएको जानकारी दिए ।

    डीआईजी क्षत्रीले भने, ‘विमानस्थल प्रहरीलाई घटनाबारे भएको के हो विवरण चाहियो भनेर भनेको छु । विमानस्थल प्रहरीले रिपोर्ट दिएपछि के गर्ने भन्ने निर्णय हुन्छ ।’ आइतबार पूर्वयुवराज पारस शाहले विमानस्थलको ड्युटीमा खटिएका एक प्रहरीमाथि दुर्व्यवहार गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेको छ ।

    त्यस भिडियोमा पारसले उनकै सुरक्षार्थ उभिएका प्रहरी नायब निरीक्षक(सई)लाई कठालो समाएर घोक्र्याएका छन् ।

    उनको दुर्व्यवहारपछि ती प्रहरी निरीह देखिन्छन् । पारस शाह सानकासाथ अघि बढ्छन्। यस भिडियोलाई लिएर धेरैले राजतन्त्र अन्त्य भइसकेका बेलामा पनि पारसको पूरानै दम्भ देखिएकाले कारवाही गर्नुपर्ने आवाज उठाई रहेका छन् ।

    अरोमा युथ नामको युट्युब च्यानलले अपलोड गरेको भिडियोमा पारसले पर पुगेपछि पनि फर्कीफर्की प्रहरीलाई चेतावनी दिएको देखिन्छ ।

    यसबारे प्रहरी अधिकारीहरुसँग बुझ्न खोज्दा कतिपयले थाहा नभएको बताए। विमानस्थल सुरक्षा प्रमुख सूर्यप्रसाद उपाध्यायले भने यो सामान्य घटना भएको जानकारी दिए ।

    ‘सुरक्षा चेकजाँचका क्रममा सामान्य धकेलाधकेल भएको हो, सुरक्षाकर्मीमाथि जाइलाग्ने नियत थिएन’। उपाध्यायले यसलाई ठूलो मुद्दा बनाउन आवश्यक नभएको बताए ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2024 sajhadabali.com All right reserved Site By : SobizTrend Technology