टी-२० विश्वकपको एशिया छनौटमा नेपालले कतारको सामना गर्दै

  • साझा डबली
  • मङ्लबार, साउन ७, २०७६
  • काठमाडौँ, साउन ७। सन् २०२० मा अस्ट्रेलियामा हुने टी-२० विश्वकपको एशिया स्तरको छनौट खेल हिजो देखि शुरु भएको छ । यस प्रतियोगिताको प्रमुख दाबेदार मानिएको नेपालले आफ्नो पहिलो खेल आज कतारविरुद्ध खेल्दै छ । कतारले सोमबार पहिलो खेल आयोजक सिंगापुरसँग खेल्दै हार बेहोरेको छ । सोमबार भएका खेलमा सिंगापुरले कतारलाई ३३ रनले पराजित गरेको छ भने मलेसियाले कुवेतलाई ४२ रनले पराजित गरेको छ ।

    आजै दोस्रो खेल आयोजक सिंगापुर र कुवेत बीच हुने छ । पहिलो खेल नेपाल र कतारबीच नेपाली समय अनुसार विहान सवा ७ बजे हुने छ भने दोस्रो खेल सिंगापुर र कुवेतबीच बिहान सवा ११ बजे सुरु हुने छ ।

    एशिया स्तरको यो छनौट खेलबाट शिर्ष टिम ग्लोबल क्वालिफायरका लागि छनौट हुने छन् । ग्लोबल क्वालिफायरका लागि एशियाबाट १, अफ्रीका र अमेरिका क्षेत्रबाट २-२ तथा युरोप र इष्ट एशिया प्यासिफिकबाट १-१ गरि ७ देश छानिने छन् ।

    ग्लोबल क्वालिफायरका लागि अक्टोबर ११ देखि नोभेम्बर ३ सम्म युएईमा खेल हुने छ । जसमा आयोजक युएई, ग्लोबल क्वालिफायरमा छनौट भएका ८ देशका साथै हङकङ, आयरल्याण्ड, नेदरल्याण्ड, ओमान, स्कटल्याण्ड र जिम्बाबे गरि १५ देशले ग्लोबल क्वालिफायर खेल्ने छन् । जसबाट ६ देश विश्कपका लागि छनौट हुने छन् ।

    ग्लोबल क्वालिफायरबाट आएका ६ देशले विश्वकपको पहिलो चरणमा श्रीलंका र बंगलादेशसँग सुपर १२ का लागि खेल्ने छन् । जसबाट ४ टिम सुपर १२ मा पुग्ने छन् ।

    अहिलेसम्म आयोजक अस्ट्रेलियासहित पाकिस्तान, भारत, दक्षिण अफ्रिका, न्युजील्याण्ड, ईङल्याण्ड, वेस्टइन्डिज र अफगानिस्तान विश्वकपको सुपर १२ मा पुगिसकेका छन् ।

    एशिया छनौट खेल्ने नेपाली टिम :

    १४ सदस्यीय टिममा पारस खड्का (कप्तान), अभिनाश बोहोरा, बसन्त रेग्मी, बिनोद भण्डारी, दिपेन्द्र सिंह ऐरी, ज्ञानेन्द्र मल्ल, करन केसी, ललित नारायण राजबंशी, पवन सराफ, प्रदीप ऐरी, रोहित कुमार पौडेल, सन्दीप लामिछाने, शरद भेस्वाकर र सोमपाल कामी, रहेका छन् ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2024 sajhadabali.com All right reserved Site By : SobizTrend Technology