भारतीय दबावसामू ‘झुकेको’ भन्दै नेकपामै सरकारको आलोचना

  • दबाब होइन, मेसिन नै रहेनछ - ओलि
  • साझा डबली
  • शनिबार, असार २१, २०७६
  • काठमाडौं , असार २१। सत्तारुढ नेकपाका सांसदहरुले भारतबाट आयात गर्ने तरकारी र फलफूलमा विषादी जाँच गर्ने निर्णय फिर्ता लिएकोमा सरकारको चर्को आलोचना गरेका छन् । उनीहरुले भारतीय दबावकै कारण निर्णय फिर्ता लिएको हो भनेर प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई प्रश्न गरेका छन् ।

    प्रधानमन्त्री ओलीले भने दबाव नभई पूर्वधार नभएकाले निर्णय फिर्ता लिएको बताएका छन्।

    बानेश्वरस्थित संसद भवन परिसरमा बसेको संसदीय दलको बैठकमा नेकपा सांसदहरुले भारतीय दबावसामू सरकार झुकेको आरोप लगाएका थिए । भीम रावल लगायतका सांसदहरुले नेपालले विषादी जाँच्छु भन्दा भारतले नगर भन्नु र सरकार पछि हट्नु गलत भएको बताएका छन् । ‘कुनै देशले नजाँच भन्दैमा चुप लाग्नुपर्ने किन ? यसलाई मैले आश्चर्यका रुपमा लिएको छु’ बैठकपछि नेता रावलले भनेका छन् ।

    बैठकपछि वरिष्ठ नेता माधवकुमार नेपालले हतारमा निर्णय गर्ने, फुर्सदमा पछुताउने गर्न नहुने प्रतिक्रिया दिए । सरकारले विषादीयुक्त खाद्यान्न प्रयोग नभएको विश्वास जनतालाई दिलाउन सक्नुपर्ने भन्दै उनले भने, ‘हामी कसैको दबाबको सामु झुक्नु जरुरी छैन । हामी विश्वस्त हुनुपर्यो कि नेपाली जनताले विषादी मिसिएका शरीरलाई प्रतिकूल असर पार्ने खालका चिजहरु उपभोग गरिरहेका छैनन् ।’

    प्रधानमन्त्री ओलीले भने कसैको दबावले नभई पूर्वाधार नभएकाले निर्णय फिर्ता लिनु परेको बताएका छन् । तरकारी तथा फलफूलमा विषादी भए नभएको जाँच गर्ने मेसिन छ छैन भने जानकारी नै नभएको भन्दै उनले भने, ‘राम्रो गर्न खोजेका थियौं तर समय भन्दा अगाडि नै थालिएछ । पूर्वाधार छ कि छैन थाहा भएन । जाँच गर्ने भनेर फाइल ल्याए, झ्याप्पै निर्णय गरेँ ।’

    सरकारले असार २ गते निकासी पैठारी सम्बन्धी आदेश राजपत्रमा प्रकाशित गरेको थियो, जसमा नेपाल आयात गरिने तरकारी तथा फलफुलको सिमा नाकामा विषादी परीक्षण गर्नुपर्ने उल्लेख छ । काठमाडौंस्थित भारतीय दूताबासले लिखित पत्र नै लेखेर सरकारी निर्णयको विरोध गरेको थियो

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2024 sajhadabali.com All right reserved Site By : SobizTrend Technology