पर्वतमा कालिगण्डकी नदी पनि ब्यक्तिको नाममा रहेको खुलासा !

  • साझा डबली
  • मङ्लबार, बैशाख १७, २०७६
  • पर्वत, वैशाख १७ । देशका विभिन्न ठाउँमा सरकारी जग्गा व्याक्तिको नाममा दर्ता भएको घटना सार्वजनिक भैरहँदा कालीगण्डकी नदी समेत व्यक्तिको नाममा रहेको खुलासा भएको छ ।

    पर्वतको सहस्रधारादेखि अर्मादीसम्मको करिब २ किलोमिटर दुरीमा नदीको क्षेत्र व्यक्तिको नाममा रहेको पाइएको हो । सरकारी जग्गा व्यक्तिको नाममा रहेको चर्चा देशैभरि भएपनि कालीगण्डकी नदीको विषय भने ओझेलमै छ ।

    नदी व्यक्तिको नाममा रहेको २०७२ सालमै खुल्न आएको थियो । तत्कालिन जिल्ला नापी अधिकृत पूर्णहरि सुवेदी, मालपोत अधिकृत सुरन पौडेल लगायत सहभागी भएको जिल्लास्तरय अनुगमन समितिले कालीगण्डकीको दुई किलोमिटर क्षेत्र व्यक्तिको नाममा रहेको प्रतिवेदन जिल्ला प्रशासन कार्यालय र जिल्ला विकास समितिमा बुझाएको थियो । तर, प्रतिवेदन अनुगमन समितिले बुझाएपनि अहिलेसम्म यस विषयमा अरु कारवाही अगाडि बढेको छैन् ।

    कालीगण्डकी अतिक्रमण छानविन समितिका सदस्य रहेका पूर्णहरि सुवेदीले सुरु नापीकै समयमा भएको कमजोरीका कारण लापरवाही देखिएको बताउनुभयो । नापी हुँदाको वखत पाङ र खुर्कोटका बासिन्दाले नदी मिचेको सुवेदीले बताउनुभयो ।

    नीतिगत अनियमितता गरेर नदी व्यक्तिको नाममा पार्ने काम भएको सुवेदीले बताउनुभयो । अनुगमन समितिको प्रतिवेदन अनुसार नदीको भाग २०३८ सालमा व्यक्ति र गुठीको नाममा गएको औल्याइको छ ।

    पर्वतको तत्कालीन पाङ गाविस १, २, ३ र ४ तथा तत्कालीन खुर्कोट गाविस १ र २ मा पर्ने २४ कित्ताको करिब १ सय ६० रोपनी जमिन व्यक्तिका नाममा छ । नदी किनारमा आवादी जग्गा भएकाहरूले २०३८ मा नदी व्यक्तिका नाममा दर्ता गरेका थिए ।

    जिल्ला प्रशासन कार्यालयमा पेस गरिएको प्रतिवेदनअनुसार सोही क्षेत्रमा पर्ने ६ रोपनी १२ आना जग्गा लक्ष्मीनारायण गुठीका नाममा दर्ता छ । त्यसमध्ये करिब १९० रोपनी क्षेत्रफल नेपाल सरकारकै नाममा मालपोत कार्यालयमा दर्ता छ ।

    नदीको बीच भागबाट दायाँवायाँ ३०÷३० मीटर नदीकै जग्गा हुनुपर्नेमा पर्वत खण्डमा बीच भागबाट वायाँ भाग नापीको नक्सामा देखिदैन् । कालीगण्डकी नदी व्यक्तिको नाममा रहेको क्षेत्र कुश्मा नगरपालिका भित्र पर्छ । तत्कालिन समयको प्रतिवेदन बारे अहिलेका जनप्रतिनिधी र कर्मचारी बेखबर जस्तै छन् । के आधारमा कारवाही अगाडी बढाउने भन्ने विषयमा अनभिज्ञ रहेको जिसस प्रमुख मनोहर विश्वकर्माले बताउनुभयो ।

    विश्वकर्माले भन्नुभयो, नदी बग्ने स्थानसमेत व्यक्तिका नाममा छ भन्ने सुनिएको छ । यसको समाधान कसरी गर्ने भन्ने बारेमा अध्ययन थाल्नेछौं । पर्वतका प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकालले पनि नदीको सीमाबारे अध्ययन नभएको बताउनुभयो ।

    यो समाचार rajmarga.com बाट साभार गरिएको हो ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2024 sajhadabali.com All right reserved Site By : SobizTrend Technology