अपडेट : बारा र पर्सामा हावाहुरीको बितण्ड ,२८ को मृत्यू ४०० बढी घाईते (अस्पतालका तस्बिरहरु )

  • साझा डबली
  • आइतवार, चैत्र १७, २०७५
  • बारा,चैत १७ । आइतबार साँझ आएको हावाहुरीबाट ठूलो जनधनको क्षति भएको छ। बारा र पर्सामा २८ जनाको मृत्यू र ४०० बढी घाइते भएको प्रधानमन्त्री केपी शर्मा ओलीले जनाएका छन्।

    पर्साका प्रहरी निरीक्षक राजेश दत्तका अनुसार बाराको फेटा र पर्वानीपुर गाउँपालिकामा सबैभन्दा बढी क्षति भएको छ। फेटा गाउँपालिका-१ र भर्वानीपुर गाउँपालिका-४ मा ठूलो क्षति भएको घटनास्थलमा रहेका प्रहरी निरीक्षक मोहनमान श्रेष्ठले जानकारी दिए।  केही मृतकका शव वीरगन्जका नारायणी, अस्पताल, मेडिकल कलेज र हेल्थ केयरमा राखिएको छ भने अन्य शवको अस्पताल लाने तयारी भइरहेको बाराका एसपी सानुराम भट्टराईले जानकारी दिए।

    हावाहुरीले सडक छेउका रुख र बिजुलीको पोल ढाल्दा घाइतेको उद्धारमा कठिनाइ भएको घटनास्थलमा रहेका प्रहरी निरीक्षक श्रेष्ठको भनाइ छ। घाइतेको उद्धारका लागि सडक पन्छाउने काम भइरहेको उनले बताए।

    घटनास्थलबाट सयौंको संख्यामा घाइतेलाई उपचारका लागि वीरगन्जका विभिन्न अस्पतालमा पठाइएको बाराका एसपी भट्टराईले जानकारी दिए। भट्टराईका अनुसार उद्धारको कार्य जारी रहेकाले मृतकको संख्या बढ्ने अनुमान गरिएको छ।

    साँझ हावाहुरीले सडकमा रोकिराखेका करिब २५ वटा बस र ट्रक पल्टाएपछि चैनपुरमा धेरै घाइते भएका हुन्। चैनपुरमा दर्जनौको संख्यामा घर भत्किएका छन्.।

    उद्धार कार्य जारी रहेको र रातको समयमा विभिन्न जटिलता आइपरेकाले मृतकको संख्या अझै बढ्ने अनुमान प्रहरीको छ।

    अस्पतालका फोटोहरू

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2024 sajhadabali.com All right reserved Site By : SobizTrend Technology